16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सूचना प्रविधि


टेलिकमद्वारा दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीलाई ‘एण्ड्रोइड स्मार्टफोन’

टेलिकमद्वारा दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीलाई ‘एण्ड्रोइड स्मार्टफोन’


सुनसरी, असार १३ । सुनसरी जिल्लामा दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई नेपाल टेलिकमले ‘एण्ड्रोइड स्मार्टफोन’ सिमकार्डसहित वितरण गरेको छ । कम्पनीले विद्यार्थीको अध्ययन कार्यमा सहयोग पुगोस भन्ने हेतुले उक्त फोन वितरण गरेको हो । 

सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा दृष्टिसम्बन्धी अपांगता भएका १२ र स्नातक अध्ययनरत विद्यार्थीहरुलाई सामसुङ ग्यालेक्सी एम २० स्मार्टफोन उपलब्ध गराइएको हो । कम्पनीका अनुसार टेलिकमले उपलब्ध गराएको विद्यार्थी अफर अन्तर्गतको सुविधा उपयोग गरी ६ महिनासम्म प्याकेज र एक वर्षसम्म बोनसको सुविधा उपयोग गर्न सक्नेछन् । अपांगता भएका व्यक्तिहरुका लागि कम्पनीले भ्वाइस सेवामा समेत विशेष सुविधा उपलब्ध गराइरहेको छ ।

कम्पनीका तर्फबाट दूरसञ्चार कार्यालय इटहरीका प्रमुख उप–प्रबन्धक ज्ञानेश दंगालले मोबाइल सेट हस्तान्तरण गरेका थिए । सो अवसरमा दंगालले मोबाइल सेट र उपलब्ध सञ्चार सुविधाहरुले विद्यार्थीहरुको पढाईमा सहयोग पुर्याउनुका साथै सहज जीवनयापनमा भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका वरिष्ठ प्रशासकीय अधिकृत घनश्याम पाण्डेले कम्पनीको तर्फबाट गरिएको सहयोगले दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई सूचना प्रविधिमैत्री वातावरण प्रदान गर्न र थप योग्यता निर्माण गर्न सहयोग पुग्ने धारणा राखे । 

विभिन्न सेवासहितको मोबाइल प्राप्त गरेपछि एमपी थ्री बोक्नुपर्ने बाध्यता हटेको र अध्ययनका लागि प्रयोग गर्नुपर्ने विभिन्न एप्सहरु अब एउटै उच्च क्षमताको मोबाइलबाट प्रयोग गर्न सकिने भएकाले विद्यार्थीहरु निकै खुसी देखिएका थिए ।  

‘आइसिटी फर द स्टुडेण्ट विथ भिजुअल डिसएबिलिटी’ कार्यक्रममार्फत प्रदेश नम्बर १ मा सुनसरीको इटहरी र कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगरका विद्यार्थीहरुलाई सहयोग गर्ने कम्पनीको कार्यक्रम रहेको छ । यस अन्तर्गत आर्थिक एवं प्राविधिक रुपमा पछि परेका जम्मा २० जना दृष्टिविहीन विद्यार्थीहरुलाई कम्पनीको सिमकार्डसहित एण्ड्रोइड स्मार्टफोन उपलब्ध गराएर अत्याधुनिक सूचना प्रविधिमा आधारित अध्ययनको अवसर प्रदान गर्न लागिएको हो ।


टेलिकमले धनकुटामा पनि शुरु गर्यो उच्च गुणस्तरको एफटीटीएच सेवा

टेलिकमले धनकुटामा पनि शुरु गर्यो उच्च गुणस्तरको एफटीटीएच सेवा


धनकुटा, असार ८ । नेपाल टेलिकमले धनकुटामा पनि एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवाको शुरुवात गरेको छ । एक कार्यक्रमबीच एफटीटीएच प्रविधिमार्फत सञ्चालित टेलिफोनबाट प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई काठमाडौंमा फोन गरेर धनकुटामा उक्त सेवाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश नम्बर १ लाई डिजिटल प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गर्दै समृद्ध र डिजिटल नेपाल बनाउने अभियानको नेपाल टेलिकम महत्वपूर्ण सहयात्री रहेको उल्लेख गरे । उनले २०७६ सालभित्रमा प्रदेश १ का सबै स्थानीय निकाय र शहरमा यो सेवा विस्तार गर्ने तयारी भइरहेको र सो कार्यमा नेपाल टेलिकमको सहयोग रहने बताउदै प्रविधिको भरपुर उपयोग गरी जीवन सहज र समृद्ध बनाउन आह्वान गरेका छन् ।

हाल धनकुटामा जडान गरिएका दुईवटा एफडीसी (फाइबर डिष्ट्रिब्युसन क्याबिनेट) मार्फत सात सय ५२ लाइन एफटीटीएच सेवा वितरण गर्न सकिने छ । आगामी दिनमा ग्राहकको माग अनुसार क्षमता वृद्धि गरी धनकुटा जिल्लाका सबै क्षेत्रमा सेवा विस्तार गर्ने तयारी कम्पनीको रहेको छ । नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । यस अन्तर्गत न्यूनतम मूल्य निर्धारण गरी एक वर्षका लागि आठ एमबीपीएसको प्याक आठ हजार रुपैयाँमा उपलब्ध छ । 

नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर र एक सय मिटर फाइबर निःशुल्क प्राप्त गर्ने छन् । साथै नयाँ लाइन जडानकर्ताहरुले तीन महिनासम्म जति कुरा गरेपनि पैसा नलाग्ने गरी छु्टको व्यवस्था गरिएको छ । 


टेलिकमको अफर, चीनमा प्रतिमिनेट ३ रुपैयाँ ३ पैसामै कुरा गर्न पाइने

टेलिकमको अफर, चीनमा प्रतिमिनेट ३ रुपैयाँ ३ पैसामै कुरा गर्न पाइने


काठमाडौं, जेठ २७ । पछिल्लो समयमा नेपाल टेलिकमले ल्याएको चाइना कल अफरअन्तर्गत चीनमा कुरा गर्दा न्यूनतम प्रतिमिनेट तीन रुपैयाँ तीन पैसा शुल्क मात्रै लाग्ने भएको छ । केही महिना अघिसम्म पनि चीनमा फोन गर्दा धेरै महशुल लाग्ने गरेकोमा पछिल्लो समयमा भने टेलिकमले उक्त छुटसहित अफर ल्याएको हो । 

टेलिकमले चीनकै लागि भनेर चाइना कल अफर उपलब्ध गराएपछि उक्त अफर लोकप्रिय भएको छ । नेपालबाट चीनमा कल गर्न कम्पनीले सो अफर अन्तर्गत दैनिक, साप्ताहिक र मासिक रुपमा प्रयोग गर्न सकिने प्याकहरु उपलब्ध गराइरहेको छ । दैनिक प्याक योजना अन्तर्गत ३५ रुपैयाँले १० मिनेट कुराकानी गर्न सकिन्छ । यो अफर एक दिनमै प्रयोगमा ल्याइसक्नु पर्छ । त्यसैगरी साप्ताहिक प्याक सुविधा अन्तर्गत एक सय ५० रुपैयाँमा ४५ मिनेट र मासिक प्याक अन्तर्गत पाँच सय रुपैयाँमा एक सय ६५ मिनेट कुरा गर्न सकिन्छ । यी प्याकहरु क्रमशः सात दिन र एक महिनासम्म प्रयोग गर्न सकिन्छ । 

यसरी कल गर्नका लागि लिइएका प्याक सुविधालाई मिनेटमा गणना गर्दा दैनिक प्याकबाट प्रतिमिनेट तीन रुपैयाँ ५० पैसा, साप्ताहिक तीन रुपैयाँ ३३ पैसा र मासिक प्याक योजनामा तीन रुपैयाँ तीन पैसामा कुराकानी गर्न पाइन्छ । यो अफर सबै अन्तर्राष्ट्रिय एक्सेस कोडहरु ००, १४२४, १४२५ र १४४५ मा उपलब्ध छ । प्याक अफरमा सहभागी नभई फोन गर्दा भने सामान्य अवस्थाको महशुल दर लागू हुन्छ । साथै, पछिल्लो समयमा उपलब्ध गराइएको अफरबाट ग्राहकलाई सामान्य अवस्थामा उपलब्धभन्दा प्रतिमिनेट २०.८९ प्रतिशतसम्म सस्तो सेवा प्राप्त हुन्छ । 


एसईई विद्यार्थीहरुका लागि टेलिकमद्वारा ‘विद्यार्थी अफर’

एसईई विद्यार्थीहरुका लागि टेलिकमद्वारा ‘विद्यार्थी अफर’


काठमाडौं, बैशाख २० । नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरुका लागि विभिन्न अफर उपलब्ध गराइरहेको छ । कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि उपलब्ध गराएको ‘विद्यार्थी अफर’ विद्यार्थीमाझ लोकप्रिय भइरहेको छ । कम्पनीले पहिलेदेखि नै उपलब्ध गराएको सो अफरलाई विद्यार्थीहरुको सुविधा र मागलाई विचार गरी हाल पनि निरन्तरता दिएको हो ।  

सो ‘विद्यार्थी अफर’ अन्तर्गत विद्यार्थीहरुलाई ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइएको छ । सो रकममध्ये १० रुपैयाँबाट कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न सकिने सुविधा छ । बाँकी ४० रुपैयाँबाट ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध गराइएको छ । यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नु पर्ने व्यवस्था गरिएको छ । यसका साथै ‘विद्यार्थी अफर’ अन्तर्गतको सिम लिएका विद्यार्थीलाई ६ महिनासम्म बोनसको रुपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधा समेत उपलब्ध गराउने व्यवस्था छ । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ । 

त्यसैगरी सो अफर अन्तर्गत रजिष्टर गरिएका सिममा ५० रुपैयाँ वा सो भन्दा बढी रकम रिचार्ज गर्दा समेत १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराउने व्यवस्था गरिएको छ । ५० रुपैयाँ रिचार्ज गर्दा बोनस अन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिने छ । रिचार्ज गरिसके पछि यो सुविधा ३ दिन भित्र उपभोग गरिसक्नु पर्नेछ । 

निःशुल्क सिम उपलब्ध गराइने यो ‘विद्यार्थी अफर’ अन्तर्गत विविध सहुलियत एवं सुविधा तथा वोनस उपहारसमेत भएकोले यो अफर विद्यार्थीहरुबीच लोकप्रिय भइरहेको छ । यस अफर अन्तर्गत उपलब्ध सुरुको १० रुपैयाँबाहेक अन्य रकमबाट नेपाल टेलिकमकै नेटवर्क भित्रका नम्बरमा मात्र भ्वाइस कल गर्न र एसएमएस पठाउन सकिने छ । यो अफर २०७६ असार २६ गतेसम्म उपलब्ध गराइनेछ । अफर अन्तर्गत प्राप्त प्याकेज भने सिम एक्टिभ भएको ६ महिनासम्म उपलब्ध हुनेछ भने रिचार्जमा प्राप्त बोनस एक बर्ष सम्म उपलब्ध हुनेछ । 

एसईई, उच्च मावि र सोभन्दा माथिल्लो तहका बिद्यार्थीहरुलाई बिद्यार्थी अफरको सिम उपलब्ध गराउने व्यवस्था गरिएको छ । एसईई दिएका विद्यार्थीहरुले सो सिम लिनका लागि विद्यालयको आईडी कार्ड वा परीक्षाको एडमिट कार्ड, फोटो र आफ्नो अभिभावकको नागरिकताको प्रतिलिपी उपलब्ध गराउनु पर्नेछ । 

त्यसैगरी उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीहरुले आफ्नो नागरिकताको प्रमाणपत्र, फोटो र उच्च मावि वा कलेजको परिचय पत्रको प्रतिलिपी उपलब्ध गराउनु पर्नेछ । नेपाल टेलिकमको सिम लिएका उपभोक्ताहरुले कम्पनीका विभिन्न प्याकेज प्राप्त गर्नका लागि  *1415#  मा डायल गर्नु पर्छ । कम्पनीको एप ‘नेपाल टेलिकम’बाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ । 


प्रिपेड मोबाइलमा भोलिदेखि अन्तर्राष्ट्रिय रोमिङ सेवा हुने

प्रिपेड मोबाइलमा भोलिदेखि अन्तर्राष्ट्रिय रोमिङ सेवा हुने


काठमाडौं, बैशाख १५  । भोलिदेखि प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा लागू हुने भएको छ । टेलिकमले सोमबारदेखि यो सेवा प्रथम चरणमा भारत र चीनमा लागू गर्ने जनाएको छ । यो सेवा सुरू भएसँगै नेपाल टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरुले चीन वा भारतमा रहँदा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न, नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने भएका छन् । 

त्यसैगरी सोही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सकिने छ । चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपैयाँ लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट ९० रुपैयाँ लाग्ने नेपाल टेलिकमले विज्ञप्तीमार्फत जनाएको छ ।

त्यस्तै, नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट ५३ रुपैयाँ लाग्नेछ । भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्ने छ । त्यसैगरी, नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ लाग्ने छ । भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट तीन सय ९७ रुपैयाँ लाग्ने छ । 

एसएमएसमा चीनबाट नेपाल पठाउँदा प्रति एसएमएस ५४ रुपैयाँ र भारतबाट प्रति एसएमएस २४ रुपैँया लाग्ने छ । एसएमएस प्राप्त गर्न कुनै शुल्क लाग्ने छैन । कम्पनीको वार्षिकोत्सवको अवसरमा गत माघ २२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवाको सफ्ट लन्च गरेका थिए । 

कम्पनीले हालसम्म जीएसएम पोष्टपेड सेवामा मात्र अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको थियो । अब भने प्रिपेड मोबाइलमा समेत यो सेवा प्रयोग गर्न सकिने छ । यसका लागि कुनै थप धरौटी राख्नु पर्दैन र आफ्नो मोबाइलमा भइरहेको ब्यालेन्सबाट उक्त सेवा प्रयोग गर्न सकिने छ । अन्तर्राष्ट्रिय रोमिङ सेवा लिनका लागि ८१४१५३ डायल गर्नुपर्ने छ ।


एसईई परीक्षार्थीहरुका लागि एनसेलले ल्यायो एक रुपैयाँमै ‘पहिलो सिम’

एसईई परीक्षार्थीहरुका लागि एनसेलले ल्यायो एक रुपैयाँमै ‘पहिलो सिम’


काठमाडौं, बैशाख ६ । नेपालको निजी क्षेत्रको टेलिकम सञ्चालक एनसेलले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै ‘पहिलो सिम’ अफर ल्याएको छ । एनसेलले एक रुपैयाँ मूल्यको उक्त पहिलो सिम ल्याएको हो । 

यस योजनाअन्तर्गत परीक्षार्थीले एक रुपैयाँ मात्र तिरेर एनसेलको प्रिपेड सिमको खरिदसँगै सिमको पहिलो रिचार्जमा आईफ्लिक्सभिडियो स्ट्रिमिङ्ग र माइफाइभ सेवाको फाइदा लिन सक्नेछन् । यसका साथै परीक्षार्थीले विशेष तथा सुलभ डाटा प्याकसँगै हरेक रिचार्जमा बोनस डाटा र एसएमएसको लाभलिन सक्नेछन् । एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेश पत्र र आफ्नो आमावाबाबुको नागरिकताको फोटो कपि बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन् ।

यो योजनाअन्र्तगत सिम खरीदगर्ने परीक्षार्थीले दैनिक तीन घण्टा बेलुका ११ बजेदेखि अर्को दिनको साँझ ५ बजेसम्म आईफ्लिक्समा रहेका सामाग्री निःशुल्क हेर्न सक्नेछन् । पहिलो सिम सुचारु गर्ने ग्राहकले ५० रुपैयाँ वा सो भन्दा बढीको रिचार्ज गरेपछि बिनाकुनै अतिरिक्त शुल्कमा इफाइभ समुहको पाँच वटा नम्बरमा ३० दिनसम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्नेछन् । माइफाइभ समुहमा ग्राहकले अधिकतम पाँच वटा एनसेल नम्बर समावेश गर्न सक्छन् । माइफाइभ समुहमा ३० दिनपछि कल गर्दा प्रतिमिनेट कर बाहेक ९९ पैसा शुल्क लाग्ने कम्पनीले जानकारी दिएको छ । 

ग्राहकले एस्ट्रिक्स ५५४४ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार आफूले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समुहमा राख्न सक्नेछन् । माइफाइभ सेवाको समुहमा पाँच् वटा नम्बर राखिसकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक पाँच रुपैयाँ शुल्क लाग्ने बताईएको छ । 

साथै, एक वर्षसम्म ५० रुपैयाँ वा सो भन्दा बढिको हरेक रिचार्जमा एसईई परीक्षार्थीले सय एमबि डाटा र सय एसएमएस बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनस स्वरुपप्राप्त डाटा तथाएसएमएस २४ घण्टाको लागि मान्य रहनेछ । यसका साथै कम्पनीले एसईई परिक्षार्थीका विषेश डाटा प्याक पनि ल्याएको छ । यो योजना अन्तर्गत परीक्षार्थीले डे डाटा प्याकअन्तर्गत कर सहितमात्र २० रुपैयाँमा तीन सय एमबी डेटाको मजा लिन सक्नेछन् ।

यो अफर अन्तर्गत परिक्षार्थीले कम्तिमा सात पैसा प्रतिएमबीमा डाटा सेवाको फाइदालिन सक्नेछन् भने कर सहितमात्र २० रुपैयाँमा नाइट डेटा प्याक अन्तर्गत बेलुका ११ बजे देखिबिहान ७ बजेसम्म अनलिमिटेड डेटा सेवाको लाभलिन सक्नेछन् । नाइट डाटा प्याक २४ घण्टाको लागिमात्र मान्य रहनेछ । परीक्षार्थीले एस्ट्रिक्स १७१०३ ह्यास डायल गरि यो अफर अन्र्तगतको डाटाको लिन सक्नेछन् । यो योजना सुरु भएको दिनदेखि ९० दिनसम्मको लागि मान्य रहने कम्पनीले जनाएको छ ।


टेलिकमले परिवर्तन गर्यो एडिएसल सेवालाई एफटीटीएचमा 

टेलिकमले परिवर्तन गर्यो एडिएसल सेवालाई एफटीटीएचमा 


काठमाडौं, बैशाख ५ । नेपाल टेलिकमको इन्टरनेट सेवा एडिएसएल सेवा अब फाइबर टु द होम(एफटीटीएच)मा परिवर्तन गर्न लागेको छ । दूरसञ्चारको क्षेत्रमा टेलिकमले गरेका कामको जानकारी दिदैँ आज टेलिकमले पत्रकार सम्मेलनमा उक्त परिवर्तन गरिनेबारे जानकारी गराएको हो । एफटीटीएच सेवा देशैभरी विस्तार गरिने जनाइएको छ । 

कार्यक्रमा योजनाको जानकारी गराउँदै टेलिकमकी प्रवक्त प्रतिभा वैद्यले एक वर्षदेखि निरन्तर एडिएसएल सेवा लिएका वा तीन महिनाको लागि एफटीटीएस सेवा लिने ग्राहलाई सीपीई(इन्टरनेट जडानमा आवश्यक पर्ने उपकरण) निशुल्क गरिएको जानकारी गराएकी थिइन् । इन्टरनेटको साथसाथै आईपीटीभी पनि प्रदान गर्ने लक्ष्यका साथ गृहकार्य भइरहेको जनाइएको छ । हाल देशभर ४० हजार नौ सय ६० लाइन एफटीटीएच प्रदान गर्न सकिने क्षमताको नेटवर्क तयार भएको छ र थप नेटवर्क विस्तार कार्य जारी रहेको छ । 

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीले आफ्नो व्यवसाय मात्र सञ्चालन नगरी सेवालाई समेत प्राथमिकता दिनुपर्ने दायित्व भएकाले नेपाली जनता बसोबास गरेका सबै स्थानमा सेवा उपलब्ध गराइरहेको बताएका थिए । उनले छोटो अवधिमै फोरजी सेवालाई देशव्यापी रुपमा विस्तार गर्ने योजनाका साथ कम्पनी अगाडि बढेको समेत जानकारी गराए । साथै, सातै प्रदेशमा गत माघ २० मा तीन वटा सेवा सम्झौता भएको जानकारी दिइयो । जसमध्ये कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क एक र नेटवर्क दुईका लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएको छ । नेटवर्क एक अन्तर्गत मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल अर्थात् हालको प्रदेश २, ३, ५ र ६ तथा नेटवर्क दुई अन्तर्गत पूर्वाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल अर्थात् हालको प्रदेश १, २, ४, ५ र ७ का विभिन्न स्थान पर्ने टेलिकमले बताएको छ ।  


नेपालले भू–उपग्रह अन्तरिक्ष पठायो, प्रधानमन्त्रीले दिए वैज्ञानिकलाई बधाई

नेपालले भू–उपग्रह अन्तरिक्ष पठायो, प्रधानमन्त्रीले दिए वैज्ञानिकलाई बधाई


काठमाडौं, बैशाख ५ । पहिलो पटक नेपालको आफ्नै स्याटलाइट (भू–उपग्रह) अन्तरिक्षमा पठाइएको छ । अमेरिकाको भर्जिनियास्थित प्रक्षेपण केन्द्रबाट आज(बिहीबार) बिहान २ः३१ बजे ‘नेपालीस्याट –१’ नाम दिइएको नेपालको भू–उपग्रह अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा प्रक्षेपण गरिएको हो ।

उक्त स्याटलाइटको तौल झण्डै एक किलो रहेको छ । नेपाली भू–उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ । यसबाट नेपालले आफ्नो भू–भागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्वीर र सूचनाहरू प्राप्त गर्न सक्ने छ । यो नेपाली भू–उपग्रह निर्माणमा जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्केलगायत संलग्न थिए ।

यसैबीच नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खुसी व्यक्त गर्दै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका छन् । उनले आज बिहान ट्वीट गर्दै स्याटलाइट निर्माणदेखि प्रक्षेपणको कार्यसम्म संलग्न सबै वैज्ञानिकहरुलाई बधाइ दिएका छन् । यसबाट नेपालको प्रतिष्ठा बढेको ओलीले बताएका छन् । सानै आकारको भए पनि नेपाली भू–उपग्रह अन्तरिक्षमा पठाइएपछि विश्वभर छरिएका नेपालीहरूले पनि खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा आफ्ना धारणाहरु राखिरहेका छन् ।


टेलिकमले नयाँ वर्षसँगै ल्यायो नयाँ अफर

टेलिकमले नयाँ वर्षसँगै ल्यायो नयाँ अफर


काठमाडौं, चैत २९ । नेपाल टेलिकमले नयाँ वर्ष २०७६ सँगै नयाँ ‘अफर’ ल्याएको छ । नयाँ वर्षलाई लक्षित गर्दै टेलिकमले नयाँ अफरमा दुई सय रुपैयाँको ‘प्याक अफर’ योजना सार्वजनिक गरेको हो । 

नेपाल टेलिकमको सेवा लिएका सेवाग्राहीले दुई सय रुपैयाँ खर्च गर्दै प्याक खरिद गरेपछि ३ जिबी इन्टरनेट डाटा चलाउन तथा कम्पनीकै नेटवर्कभित्र दुई सय मिनेट भ्वाइस कल गर्न र दुई सय वटा एसएमएस पठाउन सक्ने छन् । 

प्याकको अवधि खरिद गरेपछि पाँच दिनसम्म रहने छ । सो प्याक २०७५ चैत ३० देखि २०७६ बैसाख २ (तीन दिन) गतेसम्म खरिद गर्न सकिने छ । प्याक प्राप्त गर्नका लागि ग्राहकले १४१५ मा डायल गर्नु पर्नेछ ।


अबदेखि अरुको नामको सिमकार्ड प्रयोग गर्न पाईदैन

अबदेखि अरुको नामको सिमकार्ड प्रयोग गर्न पाईदैन


काठमाडौं, फागुन २० । नेपाल दूरसञ्चार प्राधिकरणले अब अरुको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नपाइने कार्यविधि तयार पारेको छ । प्राधिकरणले अर्काको नाममा रहेको सिमकार्डबाट विभिन्न अपराधिक क्रियाकलाप बढेको भन्दै प्रधानमन्त्री कार्यालयबाट गुनासो आएकाले त्यसलाई सम्बोधन गर्न ‘ई–केवाईसी सिस्टम’ लागू गरी उक्त कार्यविधि तयार पार्ने भएको हो । 

प्राधिकरणले ‘ई–केवाईसी सिस्टम’ को कार्यविधिमा अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नमिल्नेगरी व्यवस्थापन गर्न लागेको छ । सिमकार्ड दुरुपयोग गर्ने, एउटैको नाममा धेरै सिमकार्ड लिनेजस्ता प्रवृत्ति रोक्न ई–केवाईसी सिस्टम ल्याउन लागिएको हो ।